राजनीति

सरकार समृद्ध नेपाल निर्माणकाे अभियानमा जुटेको छ- श्रममन्त्री

सरकार समृद्ध नेपाल निर्माणकाे अभियानमा जुटेको छ- श्रममन्त्री

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार गरीबी, अभाव र बेरोजगारीबाट देशलाई मुक्त गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताएका छन् । 

 

 

बडादसैं, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालीको श्रम र सीप नेपालकै विकासमा प्रयोग गरी समृद्ध नेपाल निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । 

 

 

मन्त्री विष्टले मुलुकमा पर्याप्त रोजगारीका अभावमा घर परिवार र मातृभूमिबाट टाढा परदेशी भूमिमा रहेका लाखौं नेपाली रगत र पसिना बगाउँदै अत्यन्त जोखिमपूर्ण काम गर्नुपरेको स्मरणसमेत गरे । 

 

 

उनले भने, ‘दसैंमा आफ्नो घर आउने चाहना हुँदाहुँदै पनि कयौं युवा घर फर्कन सक्नुभएको छैन । सरकार विदेशी भूमिमा नेपाली युवाले गरेको मेहनतलाई सम्मान गर्दछ । तपाईहरु स्वदेश फर्कदा जन्मभूमिमै श्रम गरी सम्मानजनक जीवनयापन गर्न पाउने गरी रोजगारीका अवसर वृद्धि गर्न सरकार क्रियाशील छ ।’ 

 

 

सबैले देश निर्माणमा योगदान गर्नुपर्ने बेला आएको बताउँदै उनले मरभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी नेपाली हातले नेपाल बदल्न सक्ने विश्वास व्यक्त गरे ।

 

 

पारिवारिक पुनर्मिलनको दृष्टिले दशैँ निकै महत्वको चाड भएको उल्लेख गर्दै उनले नेपालका चाडपर्वले सबै नेपालीलाई एकताबद्ध बनाउन सहयोग पुर्याउने बताए। 
 

गोकर्ण विष्ट

विशेष