मुख्य समाचार राजनीति

एक नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउँछु- मुख्यमन्त्री राई

एक नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउँछु- मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने दाबी गरेका छन् । यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो दाबी गरेका हुन् । 

 

 

उनले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिए । साथै, उनले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष छ अर्ब खर्च गर्ने बताए । 

 

 


मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिए । 

 

 

 

मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी दिए । 

 

 

 

निर्देशनालय उद्घाटनका अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलो सेवाप्राप्त गर्न सकेकोमा खुशी व्यक्त गरे । 

 

 

 

प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त नहुने बताए । 
 

प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई

विशेष