कला साहित्य

कथासंग्रह ‘अनावरण’ लोकार्पण 

कथासंग्रह ‘अनावरण’ लोकार्पण 

ललितपुर ।  कथाकार शुषमा मानन्धरको कथा संग्रह ‘अनावरण’ शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

 

२४ कथाहरुको संगालो ‘अनावरण’लाई  छ जना स्रष्टा तथा लेखकहरुले संयुक्त रुपमा लोकार्पण गरे ।  पेन नेपालद्वारा आयोजित लोकार्पण समारोहमा हास्य विधाका साहित्यकार रामकुमार पाण्डे, बालकथाकार विनय कसजु, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी र  कथा संग्रह ‘अनावरण’का सर्जक शुषमा मानन्धरले संयुक्तरुपमा लोकार्पण गरेका थिए  । 

 

कार्यक्रममा समालोचक दामोदर पुडासैनीले अनावरण कथा संहग्रहले काठमाडौं उपत्यकाको आञ्चलिकता चित्रण गरेको उल्लेख गरे । उनले भने, ‘यो कृतिले समसामयिक परिवेश, नेपाली प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने मानिसहरुको मनोविश्लेषण पनि गरेको छ ।’  

 

कथासंग्रहबारे बोल्दै कथाकार मानन्धरले आफ्नै परिवेश, आफ्नै भोगाई र जानकारीका आधारमा कथाहरु सिर्जना गरेको जानकारी दिइन् । उनले अनावरणका कथाहरुमा वास्तविक पात्र र विवरणहरु प्रतिबिम्बित भएको उल्लेख गरिन् । 

 

लेखकहरुको अन्तर्राष्ट्रिय संगठन पेन इन्टरनेसनलको सम्मेलनमा सहभागी भएकाहरुले सो अवसरमा आफ्नो अनुभव आदानप्रदान पनि गरे । भारतको पुनामा हालै सम्पन्न पेन इन्टरनेसलनमा सहभागी भएका पेन नेपालका महासचिव प्रकाश ए राज, सदस्य कोमल चित्रकारले आफ्ना अनुभवहरु सुनाएका थिए । 

 

कार्यक्रममा स्वीट्जरल्याण्ड पेनका सचिव एलिक्स प्यारोडीले आफ्नो नेपाल भ्रमण, आफ्नो मुलुकको सन्दर्भ, महिला सर्जक आदिबारे चर्चा गरिन् । 
 

विशेष