मुख्य समाचार राजनीति

चुनावमा गरेका वाचा बिर्सेका छैनौं, क्रमशः पूरा हुन्छन्- प्रचण्ड

चुनावमा गरेका वाचा बिर्सेका छैनौं, क्रमशः पूरा हुन्छन्- प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताएका छन् । 

 

 

शनिबार नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने,‘जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे-जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्छ ।’ एक प्रसङ्गमा उनले दसैंलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताए । 

 

 

साथै, अध्यक्ष प्रचण्डले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए । 

 

 


अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै अध्यक्ष प्रचण्डले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर सरकार अगाडि बढेको बताए ।

 

 

 

उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गरे । 

 

 

 

नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको बताए ।
 

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड

विशेष