नेकपा सचिवालय बैठक शुरु, यी विषयमा हुँदैछ छलफल
काठमाडौं । दसैंअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिस्ट पार्टीको आइतबार बसकेको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आइतबार र सोमबारका लागि तय गरिएको छ ।
सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२-१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने जनाइए पनि तीन महीना पूरा भएको दुई महीना व्यतीत भइसकेको छ ।
प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ ।
नेकपा सचिवालय बैठक