राजनीति

अब खानी र पानी सँगसँगै चल्दैनः सञ्चारमन्त्री बाँस्कोटा

अब खानी र पानी सँगसँगै चल्दैनः सञ्चारमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानीसँगै नचल्ने बताएका छन् । 

 

 

धुलिखेलमा मंगलबार आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन ।’ 

 

 

उनले पानीको स्रोत भएका अधिकांश क्षेत्रमै ढुंगाखानी सञ्चालन भइरहेकाले पानीको स्रोतमाथि गम्भीर असर भइरहेको बताए । मन्त्री बाँस्कोटाले स्रोतमाथिको दोहनले मुलुकभर खानेपानीको स्रोतमाथि संकट आइरहेकाले यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरोकार भएकाहरुले छिट्टै ध्यान दिनु जरुरी रहेको बताए । 

 

 

मन्त्री बाँस्कोटाले ‘स्रोतमाथिको चोट’ नियन्त्रण गर्न नसक्दा मेलम्ची खानेपानी आयोजनाको काम ढिलाइ भएको बताए । उनले भने, ‘मेलम्चीको पानी ल्याउने योजनामा काम गर्ने शैली फरक देखियो, स्रोतको क्षेत्रमा लाभको साझेदारी व्यवस्थापन नहुँदा ढिलाइ सहनुपर्यो ।’

 

 

मन्त्री बाँस्कोटाले एशियाली विकास बैंकले आफ्ना योजना समयमै सक्ने गरी ठेकेदारलाई चयन गर्नुपर्ने सुझाव दिँदै ठेकेदारले लापवाही र ढिलासुस्ती गरे सरकारलाई जानकारी गराउन अनुरोध गरे । 

 

 

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आयोगले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा शहरीकरण गर्न लागिएको बताउँदै आगामी १५ औं योजनामा केही योजनाका ढाँचा बदल्दै अघि बढ्ने जानकारी दिए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक

विशेष