मुख्य समाचार राजनीति

कम ग्रेड ल्याउनेको भर्ना गर्ने नीतिमा पुनःविचार हुन्छ- शिक्षामन्त्री

कम ग्रेड ल्याउनेको भर्ना गर्ने नीतिमा पुनःविचार हुन्छ- शिक्षामन्त्री

लहान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा संकायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताएका छन् । 

 

 

शहीद गौरीप्रसाद साहको १५ औं स्मृति दिवसलाई मंगबलार सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा उनले भने, ‘एसइई परीक्षामा कम ग्रेड आए पनि शिक्षा संकाय पढ्न पाउने व्यवस्थाका कारण शैक्षिक गुणस्तरीयता खस्किँदै गएकाले यसमा पुनःविचार आवश्यक छ ।’ 

 

 

मन्त्री पोखरेलले शिक्षा प्राविधिक र सीपमूलक हुनुपर्नेमा जोड दिदैं सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी शैक्षिक गुणस्तरीयता वृद्धिका लागि सामुदायिक विद्यालयमा रुपान्तरणसम्बन्धी २२ बुँदे कार्य योजना अगाडि बढाइएको जानकारी दिए । 

 

 

जलवायु परिवर्तनको समस्यालाई न्यून गर्न प्रत्येक विद्यालयमा वृक्षरोपण गरी हरित अभियान सञ्चालन गर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा सरकारले ऐन बनाएर राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण गराएर कार्यान्वयनका क्रममा रहेको जानकारी गराए । 

 

 

मन्त्री पोखरेलले देशमा तीन तहको बलियो सरकार, ५० प्रतिशतभन्दा बढी नेकपाका पक्षमा जनमत, नेपाली जनताको त्याग तपस्या र शहीदको बलिदानीले आएको उल्लेख गर्दै वर्तमान सरकार शहीदको सपना सकार पार्न दृढतापूर्वक अघि बढेको धारणा व्यक्त गरे । 

 

 

कार्यक्रममा प्रदेशसभाका सदस्य दिलीपकुमार साह, रामकुमार यादव, प्रमोद यादव, राष्ट्रपतिका स्वकीय सचिव जिबछ साहले कम्युनिष्ट सरकारको काम देखेर प्रतिपक्षी दल हतोत्साहित भएको आरोप लगाए । 

गिरिराजमणि पोखरेल शिक्षामन्त्री

विशेष