मुख्य समाचार राजनीति

हाइप्रोफाइल यौन दुव्र्यवहार : ‘मि टु मुभ्मेन्ट’ को प्रभाव नेपालको राजनीतिमा 

हाइप्रोफाइल यौन दुव्र्यवहार : ‘मि टु मुभ्मेन्ट’ को प्रभाव नेपालको राजनीतिमा 

काठमाडौं । हलिउडदेखि सुरु भएको ‘मि टु मुभ्मेन्ट’ ले अब नेपालको राजनीतिमा पनि प्रवेश गरेको छ । प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितमाथि यौनदुव्र्यवहारको आरोप लागेको छ । ‘मि टु मुभ्मेन्ट’ को प्रभावले स्थापितमाथि लागेको १५ वर्षअघिको दुव्र्यवहार पनि बाहिर आएको छ । 

 

सञ्चारकर्मी रश्मिला प्रजापतिले आइतबार सामाजिक सञ्जालमार्फत स्थापितले आफूलाई १५ वार्ष अघि गरेको यौन दुव्र्यवहारबारे पुनः लेखेकी हुन् । उनले लेखेकी छन्, ‘नेपाली समाजमा अझै पनि आफ्नो शक्ति र पदको दुरूपयोग गर्ने यौन व्याभिचारी छन् ।’

 

स्थापित त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यतिबेला उनले महानगरपालिकामै कार्यरत प्रजापतिमाथि यौनदुव्र्यवहार गर्नुका साथै जागिर पनि खोसिदिएको उनको दाबी छ । तर मन्त्री स्थापितले भने आफूले प्रजापतिलाई नचिनेको दाबी गरेका छन् । सँगै उनले प्रजापति भ्रष्ट भएको आरोप पनि लगाएका छन् । जब चिनेको छैन प्रजापति भ्रष्ट कसरी भइन् ? यो प्रश्नको लागि स्थापितलाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । 

 

त्यतिबेला प्रजापति शाखा प्रमुखमा कार्यरत थिइन् । हरेक हप्ता शुक्रबार मेयरले उनलाई फोन गर्थे। स्थापितले उनलाई शनिबार बाहिर कतै घुम्न जाऔं, प्रोमोसनको कुरा गर्नु छ भन्थे । प्रजापतिको शनिबार रेडियोमा कार्यक्रम चलाउनुपर्ने हुन्थ्यो । उनी भ्याउँदिन भनेर टारिदिन्थिन्। ‘प्रोमोसनको कुरा त मेरो अफिसमै बसेर पनि त गर्न सकिन्थ्यो । बाहिर नै किन जानुप‍-यो ? त्यो भनेको त सिधैं नराम्रै दृष्टिकोण हो’, उनले नेपाल आजसँग भनिन् । 

 

बारम्बार स्थापितको वचन टारेपछि एकपटक त स्थापितले प्रजापतिलाई लिन उनको रेडियोको कार्यालयमा गाडि पठाए । फोन गरेर भने, ‘बाहिर गाडि पठाइदिएको छु । दुईजनामात्र बसेर तिमीसँग प्रोमोसनको कुरा गर्नु छ । भोलिपल्ट गएर स्थापितसँग भनिन्, ‘म अस्थायी कर्मचारी हो । मेरो प्रोमोसन पनि हुँदैन । बारम्बार यस्तो हर्कत गरेर नगरपालिकाको जागिरको लागि आफ्नो इज्जत झकाउनु छैन ।’

 

यतिमात्र होइन, अन्य समयमा पनि कार्यालयमा अरू महिलासँग पनि बोल्दा हात हालेर त कहिले ढाड सुम्सुम्याउँदै बोल्थे स्थापित । एकपटक प्रजापतिसँग पनि उनले यस्तै गर्न खोजे । तर प्रजापतिले सिधै प्रतिकार गरिन्, ‘मसँग यसरी नबोल्नुस्’ । जवाफमा स्थापितले भन्थे, ‘त्यस्तो गलत नजरले यसो गरेको होइन ।’ स्थापितको कार्यकाल सकिएपछि यो कुरा पनि सेलाएर गयो । 

 

शाही शासनकालमा स्थापित फेरि मेयर भएर आए । ’यसको साथै पहिला मप्रति दुव्र्यवहार हुँदा मैले दिएका प्रतिक्रियाको घमण्ड रहेको कारण पनि मलाई जागिरबाट निकालियो’, उनले भनिन् । 

 

प्रजापतिलाई सन् २०५४/ ९/७ मा शाखा प्रमुखमा नियुक्ति गरिएको थियो । सन् २०६०/७/३ मा उनले त्यहाँबाट अवकाश लिइन् । प्रजापतिका अनुसार, जागिर खोसिदाँ उनलाई दिइएको पत्रमा जागिर किन खोसियो त्यसबारे कुनै ठोस कारण खुलाइएको थिएन । तर, भोलिपल्ट कुनै एउटा पत्रिकाको फ्रन्ट पेजमा भ्रष्टाचारको आरोप लागेर पद खोसियो भन्ने समाचार आयो । जुन समाचार एकदमै भ्रामक र झुठो थियो ।

 

कतिले यसको विरुद्ध मुद्दा हाल्न पनि सुझाए । तर, प्रजापतिले मुद्दा हाल्नु उचित ठानिनन् । किनभने मेयर पदमा रहेका स्थापितले पछि आफैंलाई जालझेल गरेर फसाउने डर थियो उनलाई । ‘बुबा आमालाई पनि प्रेसर दिन चाहन्नथें । त्यसमाथि मेरो विवाह भएको थिएन । मेरा प्रेमिसँगको सम्बन्धमा पनि नराम्रो असर पर्न सक्छ भनेर मैले कदम चाल्नु उचित ठानिनँ । बरू आफैं साइड लागें ।’ 

 

यो घटनालाई पनि फेरि पनि दोहो-याउने सोच उनको दिमागमा पक्कै थिएन । तर, अर्की सञ्चारकर्मी उज्वला महर्जनले पनि स्थापितले राति अबेरसम्म आफूलाई पटकपटक फोन गरेर दुःख दिएकोबारे सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि उनको दिमागमा १५ वर्षअघि आफूमाथि घटेको घटना नाच्न थाल्यो । सँगै अहिलेसम्म पनि स्थापितको नफेरिएको यस्तो घटिया हर्कतले उनी दिक्क भइन् र सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गर्नबाट आफूलाई रोक्न सकिनन् । स्थापितबाट दुव्र्यवहारमा परेका यस्ता दर्जनौं महिला प्रजापतिकै फेसबुकमा साथी छन् । तर कसैले बोल्ने हिम्मत गर्र्दैनन् । भन्छिन्, ‘सबैलाई बोल्न गा-हो हुन्छ । भनेजस्तो सजिलो छैन ।’

 

स्थापितले प्रतिक्रियामा आफूले प्रजापतिलाई नचिनेको दाबी गरेका छन् । जुन कुरा निकै हाँस्यास्पद भएको बताउँछिन् उनी । ‘मैले यत्तिका वर्ष शाखा प्रमुख र विभागीय प्रमुख भएर काम गरें । प्रति महिला त हाम्रो मिटिङ हुन्थ्यो । नचिन्ने कसरी ? अब त झुठो बोल्नु शिवाय के नै छ र ?’, उनले भनिन् । 

 

अर्की सञ्चारकर्मी उज्वला महर्जनले पनि बारम्बार राती फोन गर्ने स्थापितको यस्तो व्यवहारले आफूलाई अप्ठ्यारो महसुुस भएको भन्दै अन्य पीडित महिलालाई पनि बाहिर आउन सुझाएकी छन् । साथै उनले आफू एक सबल महिलावादी भएपनि यस्ता हर्कतले आफूलाई असहज र कमजोर गराएको उनको भाव छ ।

केशव स्थापित मि टु मुभ्मेन्ट

विशेष