मुख्य समाचार राजनीति

देश विकासका लागि युवामा सामाजिक भावना हुनु जरुरी छः सभापति देउवा

देश विकासका लागि युवामा सामाजिक भावना हुनु जरुरी छः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् ।

 

 

क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जंगल क्याम्प २०१८ को उद्घाटन गर्दै उनले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । 

 

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताए । 

 

 

सभापति देउवाले विकासका नयाँ नयाँ अवधारणको आगमनसँगै वातावरणलाई कसरी दिगो रुपमा बचाइ राख्ने भन्ने चुनौति थपिदै गएको उल्लेख गर्दै वातावरण प्रदूषणले स्वस्थ खानपीनमा परेको असर र त्यसले जनस्वास्थ्यमा पारिएको नकारात्मक प्रभाव अहिलेको युगको सबैभन्दा ठूलो चुनौती रहेको बताए । 

 

 

सन् १९०८ को जनवरी २४ मा रोवर्ट बेडेन पावेल्सले बालबालिकाको अतिरिक्त क्रियाकलापसँगै सामाजिक सेवाको भाव सृजना गर्न बेलायतबाट स्काउट अभियान सुरु भएको प्रसङ्ग उल्लेख गर्दै उनले यसमा तीन करोड सदस्य गोलवद्ध हुनु खुसीको कुरा भएको बताए । 

 

 

तीन दिनसम्म चल्ने जङ्गल क्याम्पको उद्घाटन सत्रमा नेपाल स्काउटका केन्द्रिय संयोजक चन्दन कौसिक, बेलायत स्काउटको क्यावोट डिस्ट्रिकको प्रिन्टर लिडर रोवर्ट ल्युरेन्स, बेलायती स्काउट लेसि प्रोसर, नेपाली स्काउट लक्ष्मी ढकाल, क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारी, उपाध्यक्ष रामबहादुर भण्डारी लगायतले स्काउटको महत्वका विविध पक्षमाथि प्रकाश पारे । 

नेपाली काँग्रेस शेरबहादुर देउवा

विशेष