मुख्य समाचार राजनीति

अब सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री

अब सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् । 

 

 

 

नेपाल प्रेस संगठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताए। 

 

 

 

‘राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो’, मन्त्री बस्नेतले भने, ‘यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।’ 

 

 

 

उनले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताए । प्रदेश सरकारले अब हात फुकाएर काम गर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ थियो । ‘कतिपय काम सुरु पनि भइसकेका छन्, यसप्रति केन्द्र सरकार चिन्तित छ’ उनले भने । 

 

 

 

मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गरे । उनले भने, ‘सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानूनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिट्टै हस्तान्तरण हुन्छन् ।’

शक्तिबहादुर बस्नेत सुर्खेत

विशेष