प्रधानमन्त्री ओली अस्वस्थ, पार्टीकाे चियापानमा उपस्थित हुन सकेनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओली अस्वस्थ भएका कारणा शनिवार दसैं, तिहार र छठ पर्वको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपस्थित हुन सकेनन् ।
सुरुमा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर सहभागी भएनन् । ‘स्वास्थ्यमा केही समस्या देखिएकाले नआउनु भएको हो । भौतिक रुपमा उपस्थित नभएपनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ’ नेकपाका महासचिव विष्णु पौडेलले भने ।
कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए ।