मुख्य समाचार राजनीति

राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी सोमबार कतार प्रस्थान गरेकी छन् । कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन् ।

 

 

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले बिदाई गरेका थिए ।

 

 

अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी हुन सकेनन् । राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो ।

 

 

कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो । यसअघि प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि कतारको राजकीय भ्रमण गरेका थिए ।

 

 

झण्डै चार लाख बढी नेपालीहरु कार्यरत रहेको कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको सम्बन्ध र सहयोगलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ । 

 

 

राष्ट्रपतिको अनुपस्थितिमा उनको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राजकीय भ्रमण राष्ट्रपति विद्या भण्डारी

विशेष