राजमोका अध्यक्ष केसी भन्छन्, ‘नेपालमा संघीयता खर्च न पर्च कासी जानुपर्छ भनेजस्तै हो’
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको बताएका छन् ।
सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् । उनले भने,‘नेपालमा संघीयता भनेको खर्च न पर्च, कासी जानुपर्छ भने जस्तै भएको छ ।’
अध्यक्ष केसीले अगाडि थपे,‘अहिले ठूला दलहरुलाई पनि संघीयता नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै गलपासो भएको छ ।’
यस्तै, राजमो अध्यक्ष केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताए ।
छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयम् नै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव हाल्न लागेको उनले जानकारी दिए ।