मुख्य समाचार समाज

साझाका महाप्रबन्धक शर्माले दिए नागरिक दैनिकलाई चुनौती

साझाका महाप्रबन्धक शर्माले दिए नागरिक दैनिकलाई चुनौती

काठमाडौं । साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले नागरिक दैनिकलाई चुनौती दिएका छन् । उक्त दैनिकले शर्मा साझा प्रकाशनमा बहाल भएयता उनले भ्रष्टाचार, अनियमितता गरेकाे दावी गर्दै शृंखलाबद्ध रूपमा समाचार प्रकाशन गर्दै आएको छ । नागरिक दैनिकमा उनीविरुद्ध प्रकाशित समाचारलाई लिएर असन्तुष्ट भएका शर्माले बुधबार नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोद ज्ञवालीलाई एक पत्र लेख्दै समाचारकाे सत्यता पुष्टि गर्न चनौती दिएका हुन् । शर्माले उक्त पत्र आफ्नो फेसबुकमा राखेका छन् । उनको पत्रमा भनिएको छ :

 

मिति :-२०७५-०६-१७


श्री विनोदराज ज्ञवालीज्यू,
प्रबन्ध निर्देशक, नेपाल रिपब्लिक मिडिया ।


महोदय,


“अर्काको दोष र अर्काले के गर्यो गरेन भनी हेर्नुभन्दा आफ्नो दोष र आफूले के गरेँ गरिनँ भनी हेर्नु नै बेस हुन्छ ।” 


मैले कुनै बौद्ध स्तुपामा पुग्दा गौतम बुद्धको यो सान्दर्भिक विचार पढेको थिएँ । विगत एक वर्षदेखि बिना प्रमाण यहाँको गरिमामय मिडिया हाउसले प्रकाशन गर्ने पत्रिकाहरुले साझा प्रकाशन र मेरो बारेमा प्रकाशन गरेका समाचारहरुका बारेमा तपाईँलाई भेटेर अद्योपान्त जानकारी गराउन खोजेको थिइनँ । तर मेरा मित्र कृष्णचन्द्र कायस्थको आग्रहमा तपाईँलाई भेट्न तपाईँको कार्यकक्षमा पुग्दा तपाईँ र तपाईँका सम्पादकहरु विजय सुब्बाको फेसबुक हेर्दै चचहुई चचहुई गरेर दसैँको जाँते पिङ झैँ खेलेको देख्दा मलाई खासै तपाईँहरुसँग कुरा गर्न मन थिएन । तथापि, भेट भइसकेपछि मैले सबै प्रमाण हेरेर मात्र समाचार प्रकाशित गर्न आग्रह गरेको थिएँ । 


तपाईँहरुले “होइन, डोलिन्द्रजी, तपाईकै सञ्चालकले फेसबुकमा लेख्नुभएका विषयवस्तुलाई हामीले प्रकाशित गरेको हो । हामीलाई धेरै कागजात प्राप्त भएको छ ।” भनेर मलाई एकोहोरो प्रवचन दिनुभयो । त्यसपछि मैले मलाई नै धिक्कारेँ । अनि नेपाली मिडिया हाउसको इतिहास पढ्न थालेँ । कस्तो थियो मिडिया इतिहासमा ? कस्तो छ वर्तमानमा ?कस्ता कस्ता लगानीकर्ताले किन लगानी गरिरहेका छन् ? त्यो इतिहासकै गर्भमा छ । 


मेरो निबन्ध संग्रह “बादलभित्रको घाम” अद्योपान्त नपढी तपाईँले आठ करोड रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित म विरुद्ध सम्मानित जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर गर्नुभयो । फेरि पनि म अनुरोध गर्छु, तपाईँले साझा बुझ्नु छ र साझालाई माया गर्नुुहुन्छ भने मेरो उक्त निबन्धसङ्ग्रहको “साझा र सपनाकी रानी” भन्ने निबन्ध पढ्नुस्, त्यो निबन्ध प्रमाण र तथ्यमा आधारित छ । 


पछिल्लो समयमा पनि त्यस प्रकाशनबाट एकपक्षीय रुपमा म र साझाका विरुद्ध संस्था सिध्याउन चाहनेहरुको लहैलहैमा लागेर जुनप्रकारले समाचार प्रकाशन गराइरहनु भएको छ, यसले मलाई नागरिक पत्रिका माथि टिठ लागेर नै खण्डन पठाउन नचाहेकै हो । 


मैले कतै पढेको थिएँ, “टोक्नेलाई टोक्ने होइन, सुई लगाएर स्वास्थ्यको ख्याल गर्नुपर्छ ।” अहिले पनि म यही गरिरहेको छु तर मेरा बारेमा आउने त्यस्ता समाचारले मेरो घर, समाजदेखि स्वदेश, विदेशमा रहेका साहित्य प्रेमी र शुभचिन्तकहरु मध्यान्ह १२ बजे सम्म निराश भएर मलाई फोन गर्छन् । १२ बजेपछि जब यथार्थ उघ्रन्छ उनीहरु भ्रममा नअल्मिलिइ आफ्नो काममा लाग्छन् । उनीहरुले “भ्रम छ घन्टा पनि टिक्दो रहने छ डोलिन्द्रजी, हामीले यथार्थ बुझ्यौँ, तपाईँ अगाडि बढ्नुस् ।” भनेर दिने ढाडसहरुले गर्दा नै म अगाडि बढिरहेको छु ।


महोदय, 


आजको नागरिक दैनिकको “भ्रष्टाचार आरोपित शर्मालाई मन्त्री अर्यालको संरक्षण” शीर्षकमा प्रकाशित गरेको समाचार बिना आधार लेखिएको छ । सर्वाेच्च अदालतमा विचारधीन मेरो नियुक्ति सम्बन्धी मुद्दाका बारेमा त्यस पत्रिकाले जुन भ्रम सिर्जना गरी अदालतको मानहानी गरेको छ, त्यो यहाँहरुले नै बुझ्ने विषय हो । मैले आजसम्म कुनै पनि राजनीतिक नेतृत्व र मन्त्रीगणलाई भेटेर मेरो पद जोगाइ दिन आग्रह गरेको छैन र मैले संरक्षण खोजेको पनि छैन । न्यायको तराजूमा रहेको विषयवस्तु त्यही तराजुले नै छिनोफानो गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । 


संस्था प्रमुखको जिम्मेवारीबोध गरी मैले संस्थाको समृद्धिको लागि चौविसै घन्टा काम गरिरहेको छु । म साझा प्रकाशनमा नभएको बेला “शर्माको हातबाट हाजिरी रजिष्ट्रर खोसेर च्याते, त्यो दिन साझाको अवस्था तनावपूर्ण भएको थियो । विगाभीय मन्त्रीले समस्या समाधान गर्न हस्तक्षेप गर्नुप¥यो” भनेर कपोकल्पित समाचार सम्प्रेषण गर्नु पत्रकारिताको कुन दायरामा पर्छ ?


विसं. २०७२ असोज १२ गते राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिको निर्णयबाट तीन वर्षका लागि नियुक्त गरिएका तेजकुमार शर्माको नियुक्ति पत्र नहेरी चार वर्षका लागि नियुक्त भएको र यही असोज २४ गतेसम्म निजको कार्यकाल रहेको भनी दिइएको भ्रमित सूचनाले गति लिन खोजेको संस्थाको यात्रामा अवरोध ल्याउन खोज्नु के पत्रकारिताको सामाजिक दायित्व भित्र पर्छ ?


साझा प्रकाशन सहकारी संस्था लिमिटेडका सम्बन्धमा शिक्षा मन्त्रालयबाट गठित छानबिन समितिबाट पेश गरिएको प्रतिवेदन म चौबिसै घन्टा आफूसँगै लिएर हिँडिरहेको छु । मैले तपाईँका सम्पादक गुणराज लुईँटेललाई त्यस बेलै फोन गरेरै प्रतिवेदन अध्ययन गर्न चाहेमा उपलब्ध गराउने समेत भनेको थिएँ । तर उहाँले त्यो प्रतिवेदन पढ्न आवश्यक ठान्नु भएन । सँधैभरी मलाई सामाजिक रुपमा अपमानित हुने र भ्रष्टाचारीको संज्ञा दिलाउने गरी प्रकाशित समाचारले मलाई पर्न गएको आघातको क्षतिपूर्ति के तपाईँले दिन सक्नुहुन्छ ?


समाजमा कसैले पनि अपराजक बन्नु हुँदैन र पत्रिकाले पनि त अपराध गर्नु हुँदैन । नागरिक दैनिकले म र मेरो परिवार माथि अपराध लादिरहेको छ । अदालतले मलाई निर्दोष ठह¥याएर मलाई राहत दिलाए पनि नागरिक दैनिकले साझा प्रकाशन, म र मेरो परिवार माथि गरेको खेलवाडको क्षतीपूर्ति मैले कहाँ र कुन निकायसँग खोज्ने ?


साझा प्रकाशनमा मेरो अध्यक्षको कार्यकाल २०७५ साउन ११ बाट सकिएको छ भने महाप्रबन्धकको नियुक्ति मन्त्रालयबाट नभई सञ्चालक समितिबाट हुने प्रावधान बमोजिम सञ्चालक समितिको मिति २०७३ पुस ३ गतेको ७१८ औँ बैठकको निर्णयबाट २०७३ माघ १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि महाप्रबन्धकमा मलाई नियुक्त गरिएको हो । त्यसैले सम्पूर्ण सरोकारवालामा भ्रममा नपरी म कार्यरत रहेको कुरा स्पष्ट पार्न चाहान्छु, यद्यपि अहिले पनि पदप्रति मेरो कुनै आशक्ति छैन । मेरो विकल्प खोज्नेहरुले कारण र औचित्य सहित आएमा म सोच्न तयार छु । 


संचार आफैमा एउटा सिंगो सूर्य हो । उसका प्रकाशहरु सामाजका अनेक साघुरा गल्लीसम्म प्रवेश गरेका हुन्छन् । संचारको शक्ति कम आँकलन गर्नु पनि अर्को मूर्खता हुन्छ । तर शक्तिशाली मानिएको सम्झिएको पहलवान नसामा लठ्ठिएर दीनहीन भएपछि के हुन्छ ? नेपाली संचार क्षेत्र पनि कतै यस्तै त भएको छैन ?


विनोद ज्ञवालीज्यू, तपाईँको र मेरो कुनै दुश्मनी छैन । हामी सँधियार पनि होइनौँ । प्रतिस्पर्धी पनि होइनौँ । किन फेरि प्रमाण र तथ्य नबुझी एकोहोरो बाजा बजाउने प्रकारका समाचार सामग्री माथि निगरानी गर्नुहुन्न ? के तपाईँलाई तपाईँको पत्रिकाको सामग्रीप्रति कुनै जिम्मेवारीबोध हुँदैन ? के यसैगरी अगाडि बढ्नु भयो भने पाठकले तपाईँको लगानी रहेको पत्रिकाप्रति न्याय देलान् ? यदि, तपाईँलाई कुनै कागजमा शंका छ भने माग्नुस्, म उपलब्ध गराउन तयार छु । साझा प्रकाशन जस्ता संस्थाहरुले संरक्षण पाउनुपर्छ व्यक्तिले होइन, तर अन्याय नै नगरेको व्यक्तिले सजाय पाउनु हुँदैन । अन्याय गरेकालाई तपाईँ हामीले छाड्नु हुँदैन ।


धन्यवाद ।

 

डोलिन्द्र प्रसाद शर्मा
महाप्रबन्धक
साझा प्रकाशन

डोलिन्द्रप्रसाद शर्मा

विशेष