अपार्टमेन्टमा अस्पताल चलाउन स्वीकृति प्रदान
काठमाडौं । स्वास्थ्यमन्त्रालयले राजधानीको घट्टेकुलोस्थित एक अपार्टमेन्टमा अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरेको शुक्रबार प्रकाशित नागरिक दैनिकमा उल्लेख छ ।
उक्त अपार्टमेन्टमा काठमाडौं नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन गर्न मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले अनुमति दिएको र उक्त अनुमति स्वास्थ्यमन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको नेतृत्वमा गठित स्थलगत अनुगमन समितिको प्रतिवेदनविरीत भएको समाचारमा उल्लेख छ ।
चिकित्सा क्षेत्रको सुधारका अभियन्ता डा. गोविन्द केसीले मापदण्ड पूरा नभएका अस्पतालहरू बन्द गरियोस् भन्ने माग राखी आमरण अनशन बस्दा उक्त अस्पताल पनि मापदण्डभित्र परेका थिएनन् । तर अहिले सरकारले डा. केसीका मागविपरीत चिकित्सा क्षेत्रमा बेथिति निम्त्याउने असंगत निर्णयहरू गर्दै आएका छन् ।
केही दिन अगाडि डा. केसीले आफू आमरण अनशन बस्दा सरकारले माग पूरा गर्ने लिखित माग सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित नगर्दा शिक्षामन्त्री गिरराजमणि पोखरेलको राजीनामा माग गर्दै सरकारविरुद्ध जुनसुकै बेला पुनः अनशन बस्न सक्ने चेतावनी दिएका थिए । डा. केसीको चेतावनीलाई वास्ता नगरी सरकारले माफियाको इसारामा अपार्टमेन्टमा अस्पताल सञ्चालन गर्न अनुमति दिने काम अगाडि बढाएको हो ।