मुख्य समाचार राजनीति

सुदूरपश्चिमको राजधानी गोदावरी तोक्नु अपरिपक्क निर्णयः कांग्रेस

सुदूरपश्चिमको राजधानी गोदावरी तोक्नु अपरिपक्क निर्णयः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । 

 

 

 

कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन माफियाको चलखेलबाट प्रभावित भएको आरोप लगाएको छ । 

 

 

 

केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले उक्त निर्णयले सो स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अर्बौ लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने निष्कर्ष निकालेको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयमार्फत आज सो सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गरेको हो । 

 

 

वातावरणीय दृष्टिकोणलेसमेत वनक्षेत्र नाश हुने, वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने, चुरेको फेदीमा अवस्थित सो क्षेत्रमा शहर निर्माण गर्दा प्राकृतिक प्रकोप बढ्ने र तल्लो तटीय क्षेत्रमा बाढी, भू-क्षयलगायत मरुभूमीकरणको समस्या बढ्ने जोखिम रहेको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ । तसर्थ बैठकले राजधानी गोदावरी नपा- २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनःविचार गर्न माग गरेको छ । 

 

 

 

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले चाडपर्वका बेला आमनागरिकको मुख्य चासो हुने शान्ति सुरक्षा र उपभोग्य वस्तुको सुपथ मूल्य कायम गर्न सरकारले नसकेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 

 

बैठकले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाइ महीना पुगिसक्दा पनि कारवाहीको दायरामा ल्याउन नसक्नु दुःखद् भन्दै शान्ति सुरक्षा कायम गर्न र आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न सरकारलाई सचेत गराएको छ । 

नेपाली काँग्रेस सुदूरपश्चिम

विशेष