निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानमा बाधा पु-याउनेलाई निषेध गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला हत्याको अनुसन्धानका क्रममा बाधा पार्नेलाई निषेध गर्न निर्देशन जारी गरेको छ।
आयोगले नेपाल सरकार एवं गृहमन्त्रालयलाई सोमबार राजधानीमा ८ बुँदे निर्देशन जारी गर्दै हत्याकाण्डको अनुसन्धानमा जो कसैले पनि बाधा, व्यवधान गर्ने अवस्था नआओस् भनी सतर्क गराएको छ ।
आयोगको निर्देशनको बुँदा ३ मा जघन्य अपराधहरु भइसकेपछि विलम्ब नगरी यथाशक्य शीघ्र अनुसन्धान सम्पन्न गराई दोषी पत्ता लगाउन र पीडितलाई न्याय दिलाउन अनुसन्धानमा स्थानीय, नागरिक समाज, सञ्चारमाध्यम तथा स्वयं पीडित पक्षको समेत साथ सहयोग आवश्यक हुने हुँदा अनुसन्धानमा बाधा पर्ने गरी कोही कसैले पनि अनावश्यक दबाब सिर्जना गर्ने परिस्थिति सिर्जना गर्न नहुने उल्लेख छ ।
आयोगले पन्त हत्या प्रकरणमा प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न तथा घाइते भएकाहरूको प्रभावकारी निःशुल्क उपचार गर्न पनि निर्देशन जारी गरेको छ । आयोगद्वारा जारी ८ बुँदे निर्देशन गृहमन्त्रालयलाई बोधार्थ पठाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग निर्मला पन्त हत्या प्रकरण