नेकपामा माधव नेपालको असहमति पत्र दर्ता
काठमाडौं । सत्तारूढ नेकपामा दलमा दरिलो प्रजातान्त्रिक अभ्यास हुने भएको छ ।
विगत केही दिनदेखि सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका नेता माधवकुमार नेपालले आफ्नो असन्तोष फगत मात्र नहोस् पार्टीको अभिलेखालयमा समेत दर्ता होस् भन्ने मनशायले लिखित असहमति पत्र आधिकारिक रूपमा दर्ता गराइएको छ ।
सत्तारूढ दलको सोमबार राजधानीमा बसेको सचिवालयको बैठकले नेता नेपालको लिखित असहमति पत्रलाई स्थायी कमिटीको एजेन्डाका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको बताइन्छ ।
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज, सहइन्चार्ज, जिल्लाध्यक्ष र सचिव मनोनयनमा एकलौटी गरेको भन्दै ओली र प्रचण्डको ठाडो आलोचना गरेका थिए । उनले संसद्को अधिवेशनको अन्तिम बैठकमा देश डुब्न लाग्यो बचाउने कोही माझी छन् कि भनेर कसिलो व्यंग्य गरेका थिए । त्यसको प्रतिउत्तरमा ओली समर्थक नेताहरूले देश त डुब्नेवाला छैन माधव नेपाल चाहिँ डुब्छ कि भन्ने व्यंग्यसमेत गरेका थिए ।
नेता नेपालले जिल्ला संगठनमा पदाधिकारीको मनोनयन स्थायी कमिटीबाट हुनुपर्ने अडान राखेका छन् । सचिवालयको बैठकले आगामी स्थायी कमिटीको बैठक बस्ने मिति तय गर्ने बुझिएको छ ।