मुख्य समाचार राजनीति

अर्थमन्त्री खतिवडा भन्छन्, ‘अब युवाले अब विदेशिनु पर्दैन’

अर्थमन्त्री खतिवडा भन्छन्, ‘अब युवाले अब विदेशिनु पर्दैन’

झापा । अर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

 

युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री डा. खतिवडाले युवालाई स्वरोजगार बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको समेत जानकारी दिए । 

 

 

‘शैक्षिक योग्यता हासिल गरेका युवाले अब विदेशिनु पर्दैन’, उनले भने, ‘योग्यताका आधारमा युवालाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था मिलाइएको छ ।’

 

 

युवालाई व्यवसायी बनाउन सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई १० लाख, सीप भएका महिलालाई रु १५ लाख, दलितलाई रु १० लाखलगायतका आधा दर्जनभन्दा बढी सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । 

 

 

स्वरोजगार कोषबाट ऋण लिएर धेरै युवा आत्मनिर्भर भएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न स्वरोजगार कोष सहायक बनेको छ ।’ झापामा स्वरोजगार कोषको माध्यमबाट धेरै युवा आत्मनिर्भर भएकामा अर्थमन्त्रीले खुशी व्यक्त गरे । 

 

 

स्वरोजगार कोषले उपलब्ध गराउने कर्जा रकम कम भएको सहभागीको गुनासो सुनेपछि अर्थमन्त्री खतिवडाले अनुदानको सस्तो पैसा धेरै उपलब्ध गराउन कठिनाइ हुने उल्लेख गरे ।

 

 

‘सरकारको आम्दानी स्रोत भनेको कर हो’, उनले भने, ‘धेरै अनुदान दिन धेरै कर उठाउनुपर्ने हुन्छ, कर बढी उठाउँदा सरकार आलोचित हुने अवस्था आउँछ ।’

 

 

मुलुकमा अझै पनि धेरै नागरिक वित्तीय पहुँचमा नरहेकाले सोको अभिवृद्धि गर्ने उद्देश्यले पनि स्वरोजगार कोषको अवधारणा अघि सारिएको अर्थमन्त्री खतिवडाले बताए । 

अर्थमन्त्री डा. युवराज खतिवडा युवा

विशेष