नेपाली स्वाभिमानलाई कसैले गिराउन सक्दैनः मन्त्री अधिकारी
सिन्धुली । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपाली स्वाभिमानलाई कसैले पनि गिराउन नसक्ने बताएका छन् ।
ऐतिहासिक स्थल सिन्धुलीगढीमा आयोजना गरिएको २५१ औं विजय दिवसलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
नेपालीको वीरताको गाथा बोकेको सिन्धुलीगढी पछि परेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरकारले बनाएको गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न आग्रह गरे ।
नेपाल भौगोलिक अवस्थाले धेरै सम्पन्नता भएको देश र यसलाई सही तबरले परिचालन गरे रोजगारी, आम्दानी पर्यटनबाटै सिर्जना गर्न सकिने उनको भनार्इ थियो ।
मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका धेरै स्थललाई पर्यटकका लागि गन्तव्य स्थलका रुपमा सरकारले विकास र विस्तारमा जोड दिएको जानकारी दिए ।
साथै, उनले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा आफू लागेको बताए । ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपनालाई साकार बनाउन ओझेलमा परेका र सम्भावना भएका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार सरकारले गर्ने लक्ष्य लिएको बताए ।
अहिले पहिलो पटक पर्यटकीय स्थलको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको भन्दै जीर्ण अवस्थामा रहेको दरबारको तत्काल पुनःनिर्माण कार्य शुरु गर्न कमलामाई नगरपालिकालाई निर्देशन दिए।
रवीन्द्रप्रसाद अधिकारी नेपाली स्वाभिमान