मुख्य समाचार राजनीति

 सभापति देउवा भन्छन्, ‘कांग्रेसमा एकता र मेलमिलाप आवश्यक छ’ 

 सभापति देउवा भन्छन्, ‘कांग्रेसमा एकता र मेलमिलाप आवश्यक छ’ 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् ।

 

 

प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औं स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएका हुन् ।

 

 

नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति भएको बताए ।

 

 

सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए । 

 

 

कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गरेको स्मरण गरे ।

 

 

काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए । 

 

 

सोही कार्यक्रममा काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र विवाद र बहस हुनु स्वभाविक हो, त्यसलाई व्यवस्थापन गर्ने दायित्व नेतृत्वले पूरा गर्नुपर्नेमा जोड दिए । उनले सुवर्ण शमशेर राजनीतिका कुशल सञ्चालक र अर्थतन्त्रका सफल व्यवस्थापक भएको बताए ।

 

 

सोही अवसरमा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र सुवर्णजीले देखाएको मार्गबाट विचलित हुँदा नै काङ्ग्रेस कमजोर भएको दाबी गरे । 

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा

विशेष