राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकताको घोषणा, भोलि हुनसक्ने सम्भावन
काठमाडौं । तीनै राप्रपाका शीर्ष नेताहरुबीच आइतबार एकता हुने बारे छलफल भएको छ । तर, एकता हुनेबारे छलफल जारी रहेको जनाइएको छ । सहमति अझै टुङ्गो लाग्न सकेको छैन ।
नेताहरुका अनुसार डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पनि सहमतिमा आए केही दिन समय लिनसक्छ । नभए कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकबीच भोलि नै एकता घोषणा हुनसक्छ ।
नेताहरुका अनुसार थापा र राणाबीच भने अधिकांश विषयमा सहमति भइसकेको छ । दुबै अध्यक्ष हुने, ८÷८ सदस्य राखेर सचिवालय बनाउने र सैद्धान्तिक विषयमा एकता महाधिवेशनले तय गरेको दस्ताबेजलाई मान्ने सहमति भएको छ ।
तर, लोहनीका सन्दर्भमा सहमति जुटेको छैन । उनले थापा र राणासरह आफ्नो पनि हैसियत हुनुपर्ने माग राखेका छन्, जसलाई दुबैले स्वीकार गरेका छैनन् । ‘लोहनी पनि आउने भए केही दिनपछि एकता होला, नभए भोलि नै एकता हुनसक्छ’ राप्रपाका एक नेताले भने ।
राप्रपाले आइतबार नै उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ भने राप्रपा प्रजातान्त्रिकको पनि बैठक बस्दैछ । बैठकमा पार्टी एकता वार्तामा भएका प्रगतिबारे नेताहरुले जानकारी गराउने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले भने पार्टी एकताबारे सकारात्मक संवाद भइरहेको बताए । भोलि नै पार्टी एकता घोषणा हुने हो भन्ने प्रश्नमा उनले भने ‘मलाई थाहा छैन ।’ पार्टीको नेतृत्व र सैद्धान्तिक विषयमा छलफल चलिरहेको उनले बताए ।
कमल थापा पशुपतिशम्शेर राणा राप्रपा राप्रपा प्रजातान्त्रिक डा. प्रकाशचन्द्र लोहनी