मन्त्री पुनकाे आग्रह- ‘विप्लव जी शान्तिपूर्ण राजनीति गर्नुस्’
रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न सुझाव दिएका छन् ।
रिपोर्टस क्लब रोल्पाले सोमबार सदरमुकाम लिवाङमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा चित्त नबुझेको भए जनमत प्राप्त गरी संशोधन गर्न सकिने भएकाले जनताको मतमा विश्वास गर्न उनलाई आग्रह पनि गरे ।
मन्त्री पुनले शान्ति प्रकृयामा असन्तुष्टि हो भने कहाँकहाँ असन्तुष्टि भएको हो, बसेर बहस गरौं भन्दै विगत जस्तो कमजोर सरकार नभएकाले राज्यलाई चूनौती दिने गरी हिंसात्मक गतिविधि भए सरकार चुप लागेर बस्न नसक्ने धारणा व्यक्त गरे ।
संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता उपलव्धी उल्टाउने गरी विभिन्न शक्ति केन्द्र लागि परेको उल्लेख गर्दै उनले विप्लव नेतृत्वको नेकपालाई समेत त्यस्ता शक्ति केन्द्रले प्रयोग त गरेका छैनन् भनी प्रश्न गरे ।
मन्त्री पुनले मन्त्रिमण्डलमा हेरफेरको चर्चा हल्ला मात्र भएको बताउँदै यो सरकार पाँच वर्षसम्म रहने धारणा व्यक्त गरे ।
नेपाल कम्युनिस्ट पार्टी वर्षमान पुन ‘अनन्त’