मन्त्री सोडारी बर्खास्तकाे कारण– महिलासँग ‘अश्लील संवाद’
धनगढी । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ ।
सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्याइएको छ,’ स्रोतले भन्यो ।
मन्त्रीबाट बर्खास्त गरिएसँगै सोडारीलाई मंगलबार बसेको नेकपाको सुदूरपश्चिम प्रदेश पदाधिकारी बैठकले पार्टी सदस्यबाटै निष्कासन गरेको छ ।
प्रदेश अध्यक्ष कर्ण थापाले पदीय आचरणविपरीत व्यवहार गरेकाले कारबाही गरेको बताएका छन् । ‘अनिश्चित समयका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ,’ थापाले भने । बैठकमा इञ्चार्ज भीम रावल, प्रदेश अध्यक्ष थापालगायत सबै पदाधिकारी उपस्थित थिए ।
संवादको अडियो रेकर्ड सुनेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रदेश इञ्चार्ज रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्टलगायत नेतासँग कुरा गरेको एक नेताले बताए ।
सोडारीले भने चर्चा चलेका आरोपका विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । ‘मलाई केही थाहा छैन,’ उनले भने, ‘पार्टीले गरेको जुनसुकै निर्णय मेरा लागि मान्य छ ।’
स्रोतका अनुसार महिलासँगको सम्बन्धका बारेमा गाइँगुइँ चलेपछि केही समयअगाडि मुख्यमन्त्रीले समेत उनलाई सचेत गराएका थिए । सोडारी गम्भीर प्रकृतिको घटनामा मुछिएपछि प्रदेश इञ्चार्ज रावल आक्रोशित भएका थिए ।
‘घटना सुनेपछि रावल पनि रिसाएका थिए,’ स्रोतले भन्यो । प्रदेश अध्यक्ष थापा पहिल्यैदेखि रुष्ट रहेको सोडारीनिकट कार्यकर्ता बताउँछन् ।
पार्टी सदस्यबाट निष्कासन भएपछि सोडारी प्रदेशसभामा स्वतन्त्र सांसदको हैसियतमा रहने छन् । प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले प्रदेशसभा सदस्य पदमा असर नपर्ने बताए । पार्टी त्याग गरेको भए वा समानुपातिक सदस्य भए पार्टीले हटाउन सक्थ्यो ।
उनी कैलाली निर्वाचन क्षेत्र ४ (क) बाट निर्वाचित भएका हुन् । ‘पार्टीको कारबाही फुकुवा नहुँदासम्म स्वतन्त्र सांसदको भूमिकामा रहन्छन्,’ उपाध्यायले भने ।
सोडारीनिकट कार्यकर्ताले भने विरोधी खेमाको नियोजित षड्यन्त्रमा उनलाई फसाइएको दाबी गरेका छन् । तत्कालीन एमालेभित्र दुई खेमाबीच संघर्ष चल्दै आएको थियो । सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमालेको अध्यक्ष थिए ।
‘सोडारीलाई नरुचाउने पार्टी पंक्तिले उनीविरुद्ध षड्यन्त्र रच्दै आएका थिए,’ सोडारीनिकट एक कार्यकर्ताले भने, ‘यतिबेला उनीहरूको योजना सफल भयो ।’
दुवै पक्षबीच लामो समयदेखि गुटगत आरोप–प्रत्यारोप चल्दै आएको थियो । सोडारी माधव नेपालनिकट थिए । कान्तिपुर दैनिकबाट
दीर्घ सोडारी