प्रदेश ७

भारतीय पेन्सन बुझ्न पासपोर्ट अनिवार्य

भारतीय पेन्सन बुझ्न पासपोर्ट अनिवार्य

डडेलधुरा । भारतीय सेनामा कार्यरत आफ्ना पतिको पेन्सन बुझ्न बैतडीको सिमानामा रहेको झुलाघाट बैंक पुगेकी पुर्चौडीकी ६७ वर्षीया धर्मा विष्टलाई पासपोर्ट बनाएर आएपछि मात्र पेन्सन पाइने बताइएपछि रित्तो हात फर्किनुपर्‍यो ।

 

 

यसअघि १७ वर्षदेखि उनले नेपाली नागरिकताकै आधारमा पेन्सन बुझदै आएकी थिइन् । १७ वर्षअघि उनका पतिको मृत्यु भएपछि धर्मा आफैं पेन्सन बुझ्दै आएकी थिइन् ।

 

 

तल्लो स्वराड विशालपुरका हरि ठगुन्नाले पनि ३ महिनादेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सन पासपोर्ट या आधार कार्ड भएकालाई मात्रै दिन सकिने बताउँदै पिथौरागढस्थित बैंकले उनलाई पनि रित्तो फर्काएको हो । 

 

 

भारतीय सेना, प्रहरी र विभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त हजारौं नेपाली ३ महिनायता ठगुन्ना र विष्ट जस्तै पेन्सन नपाएर रित्तो हात फर्कन बाध्य छन् ।

 

 

‘दार्चुला, कैलाली र कञ्चनपुरलगायत सीमावर्ती बैंकहरूमा भारतीय सेनामा कार्यरत भूतपूर्व सैनिक र उनका आश्रितले नागरिकताका आधारमा पेन्सन बुझिरहेका छन्,’ ठगुन्नाले भने, ‘झुलाघाट र पिथौरागढ बैंकमा मात्र यसरी पासपोर्ट मागेर समस्या सिर्जना गरिएको छ ।’ 

 

 

बैंकका अधिकारीहरूले नेपालबाट जारी गरिएको पासपोर्ट या आधार कार्ड भएमात्र पेन्सन पाइने बताउँदै फर्काएको उनले बताए ।

 

 

यसअघि नेपाली नागरिकताका आधारमै पेन्सन बुझ्दै आएको पनि उनले बताए । धेरैले पेन्सन बुझ्न मात्रै भए पनि पासपोर्ट बनाउन जिल्ला प्रशासनमा निवेदनसमेत दिएको उनले बताए । 

 

 

३ महिनादेखि पासपोर्टबिना पेन्सन नपाएका कारण भारतको झुलाघाट बैंकबाट पेन्सन बुझ्ने धेरै अरूले पनि पासपोर्टका लागि निवेदन दिएको बताएका छन् । कान्तिपुर दैनिकबाट

पासपोर्ट भारतीय पेन्सन

विशेष