राजनीति

न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्यायाधिवक्ताको आग्रह 

न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्यायाधिवक्ताको आग्रह 

नुवाकोट । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन् । 

 

 

विदुरमाबिहीबार जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने राजनीतिकलगायत अन्य हस्तक्षेपतर्फ संकेत गर्दै स्वच्छरुपमा न्यायसम्पादनका लागि जिल्लाका सबै सरोकारवाहरुको साथ चाहिने बताए ।

 

 

 

‘न्याय सम्पादनका लागि सबैले उपयुक्त वातावरण बनाउन सहयोग गर्नुहोला, सहयोग गर्न सक्नु भएन भने पनि हस्तक्षेप चाहिँ नगर्नु होला’ महान्यायाधिवक्ता खरेलले भने, ‘न्याय सम्पादनका क्रममा कोही पक्राउ पनि पर्न सक्छन्, त्यो न्यायिक प्रक्रियामार्फत हुन्छ । धेरै दौडधुप नगर्नु होला । दौडधुपले केही हुन्न । न्याय सम्पादन आफ्नै ढङ्गले हुन्छ ।’

 

 

महान्यायाधिवक्ता खरेलले भवन जत्तिकै आन्तरिक क्रियाकलाप पनि स्वच्छ भए मात्र न्याय सम्पादन छरितो हुने बताए ।

 

 

मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने उपाध्यायले न्यायको पहुँचभन्दा बाहिर रहेकालाई न्यायिक पहुँचमा प्रवेश गराई न्याय सम्पादन गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए । सांसद नारायणप्रसाद खतिवडाले जिल्लाका न्यायिक निकायहरुबाट स्वच्छ र निपष्क्ष न्याय सम्पादनको अपेक्षा गरेको बताए ।

 

 

वैशाख १२ को भूकम्पले सरकारी वकिलको कार्यालय भत्काएपछि दुई करोड ३६ लाख ९५ लाख ६ सय ६१ लागतमा साँढे दुईतले भवन निर्माण भएको जिल्ला न्यायाधिवक्ता बिमल थापाले जानकारी दिए ।

 

 

भवन भूकम्पले भत्काएपछि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । अब आवश्यक फर्निचरको व्यवस्थापनपछि नयाँ भवनबाट सेवा आरम्भ गरिने न्यायाधिवक्ता थापाले बताए ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल न्याय सम्पादन

विशेष