मुख्य समाचार राजनीति

डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्ः उपप्रधानमन्त्री पोखरेल

डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्ः उपप्रधानमन्त्री पोखरेल

त्रिपुरासुन्दरी । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । 

 

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गरेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो । 

 

 

एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो ।

 

 

दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ । 

 

 

छिमेकी मुलुक चीन र भारतलाई मरिम्ला र रुपेडिया नाकाबीच सीधा सडक सम्पर्क जोड्न योगदान दिने सामरिक महत्वको उक्त राजमार्ग निर्माणले प्राकृतिक विविधताले भरिपूर्ण कर्णाली क्षेत्रको विकासमा कायपलट ल्याउने विश्वास गरिएको छ ।

 

 

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी ‘फिडर रोड’को अवधारणानुरुप निर्माण भएको सडक निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । 

 

 

उक्त सडक निर्माणसँगै त्यस क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीलगायत चिजवस्तु बिक्रीवितरणका लागि आवश्यक बजार पाउने हुँदा स्थानीयवासीको जीवनस्तर सुधार ल्याउन योगदान पुग्नेछ ।

 

 

केही समयपछि नै उक्त सडक नेपाली सेनाले सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम राखेकामा स्थानीय जनताले उपप्रधानमन्त्री पोखरेलसमक्ष सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिन आग्रह गरे । 

 

 

रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्देजस्ता बस्ती हुँदै भेरी नदीको तीरैतीर दर्जनौं अक्कर र भीर पहरा छिचोलेर उक्त सडक दुनै पुगेको छ ।

 

 

डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताल र त्यस क्षेत्रको राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ । 

 

 

उक्त सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले जाजरकोट– दुनै सडक निर्माणले सुनको शिरानी हालेर नूनको खोजीमा हिँड्ने कर्णालीवासी अब विकटका बासिन्दा हुन नसक्ने बताए ।

 

 

उनले भने, ‘डोल्पावासी अब विपन्न अवस्थामा रहने छैनन्, यो विकट ठाउँ सुगम बन्नेछ, यहाँका जनतालाई सम्पन्न गराउने ढङ्गबाट सरकारले काम गर्नेछ, असुरक्षित बस्तीलाई व्यवस्थित र सुरक्षित तुल्याउनेछ । 

 

 

प्रदेश सरकारसँगको सहकार्यमा जाजरकोट–दुनै सडकको स्तर उन्नति, बेलिब्रिजको जडान र कालोपत्रे गर्न कार्य सङ्घीय सरकारले पूरा गर्ने डोल्पावासीलाई विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिका लागि पहिलो शर्त सडक यातायात हो भन्ने पक्षलाई सरकारले प्राथमिकतामा राखेको बताए । 

 

 

सो अवसरमा प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्राकृतिक स्रोतसाधनको हिसाबले डोल्पा अथाह सम्भावना बोकेको स्वर्ग भएको हुँदा सो सडक निर्माणपछि डोल्पाको विकट र गरीबीको परिचय बदलिने आशा व्यक्त गरे । 

 

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको निर्देशनानुरुप भरखरै मार्ग खोलिएकाले सोको स्तरोन्नति गर्न नेपाली सेना तयार रहेको बताए ।

 

 

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले जाजरकोट–दुनै सडकका विभिन्न स्थानमा बेलिब्रिज जडान, सडकको स्तरवृद्धि र कालोपत्र गर्ने कार्य गर्न सङ्घीय सरकारसँग माग गरे । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल डोल्पावासी

विशेष