मुख्य समाचार राजनीति

८ वटा माग सहित प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई बुझाए केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र (हेर्नुहोस् ,यस्ता छन् मागहरु)

८ वटा माग सहित प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई बुझाए केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र (हेर्नुहोस् ,यस्ता छन् मागहरु)

काठमाडौं । पार्टीका नाममा सविचवालय सर्वेसर्वा बनाइएकोमा असन्तृष्ट जनाँउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन दर्जन केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन्।

 

 

नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई सम्बोधन गरिएको ज्ञापनपत्र बुधबार दिउँसो महासचिव विष्णु पौडेललाई बुझाइएको हो।

महासचिवलाई बुझाइएको ज्ञापन पत्रमा  अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड नेतृत्वको सचिवालयका नाममा भइरहेको एकलौटी निर्णयसँगै पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँडमा मनोमानी, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको केन्द्रीय सदस्यहरुको गुनासो छ । 


सरकार सुदृढ र लोकप्रिय बन्न नसकेको उल्लेख गर्दै नेताहरुले नेता र कार्यकर्ताबीच प्रगाढ सम्बन्ध नभएको बताएका छन् । यस्तै, सरकारको विभिन्न कमिटीमा समीक्षा जरुरी भएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र उत्पन्न विवाद जरैसम्म पुगेर समाधान गरिनु पर्नेमा उपल्लो तहका नेताहरुले ‘लेनदेन’मा मिलाइरहेको महसुस जनतालाई समेत हुन थालेको छ ।’

पार्टीका नाममा सविचवालय सर्वेसर्वा बनाइएकामा विरोध गर्दै केन्द्रीय सदस्यहरुले तत्काल पोलिटब्युरो गठन र नियमित बैठक बसाउन माग गरेका छन् । यस्तै, क्षमता अनुसारको नेतृत्व वितरण पनि माग गरिएको छ ।

छरितो सरकार सञ्चालन, एकता प्रक्रिया सहजसँग समन्याय ढंगबाट टुंग्याउन पनि नेताहरुको अपिल छ । यस्तै, नेता कार्यकर्ताको आचरणले पनि पार्टी र सरकारबारे प्रश्न उब्जिएकामा नेताहरुले चिन्ता गरेका छन् । वैचारिक दिशाबोधसँगै सरकारलाई सुशासनयुक्त र पारदर्शी बनाउन अपिल गर्दै नेताहरुले भनेका छन्, ‘हामीले पार्टी र सरकारको सुदृढीकरणका लागि शीर्ष नेतृत्वको ध्यान पुगोस् भनेर नै यो ज्ञापनपत्र प्रस्तुत गरेका छौँ । हामीले उठाएका विषयमा पार्टीको सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीमा समेत एजेण्डा बनाएर छलफल गराइयोस् भन्ने विनम्र अनुरोध छ ।’ तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन पनि केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

ज्ञापन पत्रमा पार्टीका केन्द्रीय सदस्यहरु डा. विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, भाष्कर काफ्ले, प्रेमलकुमार खनाल, निरज आचार्य, रामकुमार झाँक्री, विजय गुरुङ, माधव अर्याल, तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडा, रविन कोइराला, पशुपति चौलागाईं, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल र ठाकुर गैरेले हस्ताक्षर गरेका छन् ।

 

" scrolling="no" src="" name="aa" scrolling="no" src="https://drive.google.com/file/d/1b9zWUFvZ00tKT_aBxbdfqPEZ71Osc8Ly/preview" title="ab" width="640">" width="540">

विशेष