प्रवास राजनीति

श्रममन्त्रीद्वारा रोजगार विभागको अनुगमन, कामदार ठग्नेलाई नछाडिने

श्रममन्त्रीद्वारा रोजगार विभागको अनुगमन, कामदार ठग्नेलाई नछाडिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण गर्ने कसैलाई पनि नछाड्ने दाबी गरेका छन् ।

 

उनले अब म्यानपावर व्यवसायी कम्पनीहरूमाथिको अनुगमन कार्यलाई पनि सरकारले तीव्रता दिने बताए ।

 

 

आफूले मन्त्रालय सम्हालेको नौ महिनापछि बुधबार वैदेशिक रोजगार विभागको अनुगमनमा पुगेका मन्त्री विष्टले यस्तो दाबी गरेका हुन् ।

 

 

उनले वैदेशिक रोजगारीका नाममा हुने सबैखालको शोषणको अन्त्य गरिने बताए । अहिलेसम्म विभागमा आएका सबै उजुरीबारे तत्काल समाधान गर्न निर्देशन दिँदै उनले लाखौं रूपैयाँ ठगिएका वैदेशिक रोजगारपीडितका लागि ठगिएभन्दा बढी नै क्षतिपूर्ति भराउन पनि मातहतका कर्मचारीलाई निर्देशन दिए ।

 

 

राम्रो काम गर्ने कर्मचारीलाई मन्त्रालयले पुरष्कृत गर्ने र म्यानपावरसँग मिलेर कामदारमाथि अन्याय गर्ने कर्मचारीलाई माफी गरिनेछैन भन्दै अब यस विभागलाई निकै पारदर्शी बनाउन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।

 

 

उनले आर्थिक र मानवसँग जोडिएको संवेदनशील विषयमा गम्भीर हुन पनि विभागका कर्मचारीलाई आग्रह गरे । वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण भएमा मन्त्रालयले ‘रमिता’ हेरेर नबस्ने दाबी गर्दै उनले अब यस विभागबाट सेवाग्राहीलाई दिने हरेक काममा एकदमै पारदर्शिता अपनाइने बताए ।

 

 

मन्त्री विष्टसँगै विभाग अनुगमनमा पुगेका मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीका नाममा हुने सबै विकृति र यस क्षेत्रमा भइरहेका समस्या पहिचान गर्दै समाधान गर्न विभागका कर्मचारीलाई निर्देशन दिए ।

 

 

यसैगरी, उनले वैदेशिक रोजगारपीडितले आफ्नो उजुरीपत्रमा उल्लेख गरेको दाबी रकमअनुसार मुद्दाको सुनुवाइ गर्न पनि विभागका कर्मचारीलाई सुझाव दिए ।

 


अनुगमनकै क्रममा विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रका देखिएका हरेक समस्या समाधान गर्न विभाग एकदमै सक्रिय भएर काम गरिरहेको मन्त्री विष्टलाई जानकारी गराएका थिए ।

 

 

उनले अहिले विभागमा म्यानपावरमाथि अनुगमन गर्ने जनशक्ति र साधनको अभाव रहेको समेत जानकारी गराएका थिए । राजधानी दैनिकबाट 

विशेष