राजनीति

नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्दैछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा स्थायी समिति बैठकको मिति र एजेण्डा तयार गर्ने नेकपाले जनाएको छ ।

 

बैठकमा यसअघि तय भएका कार्यसूची र रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल दुई सदस्य रहेको कार्यदलले तयार पारेको प्रदेश कमिटीको खाका र केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको छ । 


सचिवालयको बैठक लामो समयदेखि बस्न नसकेको र स्थायी कमिटी बैठकसमेत सरेको भन्दै नेताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । बैठकमा रुचि नदेखाएको , सचिवालयलाई सर्वेसर्वा बनाएको र नेतृत्वमा मनोमानी  ढंगले  बढेको भन्दै २२ जना केन्द्रीय सदस्यले यथाशीघ्र केन्द्रीय कमिटीको बैठक डाक्न माग गर्दै सचिवालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

यस्तै तल्लो तहबाट आएका प्रस्तावलाई आधार मानेर कुन कमिटीमा कसलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा प्रारम्भिक खाका तयार गरिएको छ । बैठकमा प्रदेश कमिटी र जिल्ला तथा स्थानीय पार्टी एकताबारे पनि छलफल हुनेछ। सचिवालय बैठकले एकता र कार्यविभाजनको प्रस्ताव तयार गर्नेछ । त्यसपछि स्थायी समिति बैठक बोलाइनेछ। 

बिहीबारको बैठकमा सरकारको काम–कारबाहीको पनि छलफल हुने बताइएको छ । सरकारको कामकारबाहीलाई लिएर पार्टी भित्र र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली समेत असन्तुष्ट रहेका छन् । 

 

विशेष