मुख्य समाचार राजनीति

कम्युनिस्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छ : अध्यक्ष कट्टेल

कम्युनिस्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छ : अध्यक्ष कट्टेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेललेले कम्युनिस्ट सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेको बताए । 
 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भृकुटी मण्डपमा आयोजना गरेको जनसभामा कट्टेलले दिनहुँ हुने गरेको हत्या, हिंसा र बलात्कारबाट नागरिक आजित भइरहेको अवस्थामा कम्युनिस्टको  सरकारले भने लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् । उनले  वर्तमान सरकारले सामान्य नागरिकका आवाज उठाउन प्रत्येक ठाउँमा निषेध गरेको समेत बताए ।  

 

 

‘ यो सरकार कम्युनिस्टको नाममा कलंक बनेको छ । अहिले देशमा कम्युनिस्ट पार्टीको नाम गरेको भ्रष्ट दलालहरुको एनजीओ हरुको समूहले चलाएको छ, ’ उनले भने, ‘ पुष्प कमल दाहाल प्रचण्ड र  केपी शर्मा ओली यही समूहको नेतृत्व गरिरहेका छन्। कम्यनिस्ट पार्टीको सरकारको विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु संघर्षमा उत्रिनु परेको छ। ’ 

 

 

कट्टेलले भने,  ‘ अहिलेको संघर्ष ज्ञानेन्द्रको विरुद्ध जस्तो होइन। यो संघर्ष जनयुद्ध गरे भन्नेहरु,झापा विद्रोह गरेँ भन्नेहरु जसले सत्तामा पुगेर जनतालाई दमन गरिरहेका छन्। खुसी लाग्छ ९ महिनामा नांगिसकेको छ। ’ 

 

 

उनले नेपालमा ५० वर्षको कम्युनिस्ट आन्दोलनमा पचासौं पटक पुनर्गठन हुँदै जानु दुखद हो । अब क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ। कम्युनिस्ट आन्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिन्छन् । 

विशेष