मुख्य समाचार राजनीति

नेपालमा सरकार आर्इएनजीओको ‘अण्डर’मा देखियो  : कांग्रेस प्रवक्ता शर्मा

नेपालमा सरकार आर्इएनजीओको ‘अण्डर’मा देखियो  : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं । युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल शाखाले काठमाडौंमा आयोजना गर्न लागेको एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकार सह-आयोजक बनेकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।  

 

 

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युपीएफको नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्दैछ, जसमा सरकार र संघीय संसद सह-आयोजक छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी  निर्मला काण्डमा नभेटिएको सरकार कुनै आर्इएनजीओको सह-आयोजकको रुपमा भेटिनु दुखद भएको बताए । 


छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै धर्नार्मा बसेका बुवाको स्वास्थ्यमा समस्या आएको भन्दै उनले भने ‘मैले दुई दिनअघि पत्रकार सम्मेलन गरी सरकार कहाँ छ ? भनेको थिएँ । मैले सरकार यहाँ एनजीओको कार्यक्रम भेटेँ । सरकार यसरी भेटिनु कति कति सुखद छ ? एउटा एनजीओ आयोजक र सरकार सहआयोजक हुने कति सुन्दर छ ?’


एउटा आर्इएनजीओले गर्ने सम्मेलनको सरकार सह—आयोजक हुनु गलत रहेको रहेको, भन्दै उनले, त्यसमा नेपाल सरकार र संसदको लोगो प्रयोग हुनु झनै गम्भीर भूल भएको कांग्रेसको ठहर भएको बताए ।  

 

सुनसरीका फिदा हुसेन हत्या, कपिलवस्तुका दिपेन्द्र चौधरीको हत्यामा सरकार नभेटिनु र एउटा एनजीओ आयोजक हुने र सरकार सह-आयोजक हुनु सामान्य नभई गम्भीर आपत्तिको विषय भएको उनले बताए ।  ‘संसारभरि आर्इएनजीओ सरकारको अण्डरमा हुन्छ,’ शर्माले भने , ‘नेपालमा भने सरकार आइएनजिओको अण्डरमा देखियो ।’  

 

‘बाहिर सुन्नमा आए अनुसारको कुरा गर्दा यो कुनै धर्मको प्रचारका लागि भएको भनिएको छ,’ उनले भने , ‘यो देशको संविधानले धर्म निरपेक्षतालाई अनुसरण गर्छ । तर सरकार नै कुनै एक धर्मको प्रचारमा सह-आयोजक बन्छ भने यो संविधानको बर्खिलाफ हो ।’ 
 

 उनले मुलुक धर्मनिरपेक्ष भएको नविर्सन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

विशेष