६७ हजार असुल्न पूर्वउपराष्ट्रपति झालाई ४ वर्षदेखि ताकेता
काठमाडौं । बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा ।
फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन ।
यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।
स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो, उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो ।
बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्र्ने हो ।
कर्मचारीले बेरुजु रकम असुल उपर गर्न सबै उपाय अपनाइसकेका छन् । उपराष्ट्रपति कार्यालयका सहसचिव तहबाट निवासमै पुगेर पनि ताकेता भइसकेको छ ।
सहसचिवले बेरुजु उठाउन ताकेता गर्दा झाको धम्की सुनेपछि चुपचाप फर्के । ‘त्यसपछि घरमा जान छाड्यौं । वर्षको एक पटक चिठी पठाइरहेका छौं । तर, पछिल्लो समय त उहाँले उपराष्ट्रपति कार्यालयको पत्र नै बुझ्न छाड्नुभयो । हामीले अहिले हुलाकबाट चिठी पठाइरहेका छौं’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।
‘मैले आफैं लिएको होइन । तपाईंहरूले गल्ती गर्ने । मैले किन पैसा दिने’, झाले चिठी लिएर जाने कर्मचारीलाई भन्ने गरेका छन् ।
पछिल्लो समय त उनी सरकारले आफूलाई कुनै सुविधा नदिएको जिकिर गर्दै राष्ट्रपति–उपराष्ट्रपतिको सेवा–सुविधासम्बन्धी विधेयक पास गरी आफूलाई दिइने रकमबाट कटाउन भनिरहेका छन् । अन्नपूर्ण पोस्टबाट
पूर्वउपराष्ट्रपति परमानन्द झा