मुख्यमन्त्रीसँग अभद्र व्यवहार गर्दा स्थापितको मन्त्री पद गुम्यो
काठमाडौं । मुख्यमन्त्रीलाई अभद्र व्यवहार गरेको भन्दै चर्को आलोचनामा आएका प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापितलाई पदबाट हटाइएको छ ।
मुख्यमन्त्री डोरमणी पौडेलले स्थापितलाई शुक्रबार अपरान्ह हटाउने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए।
मन्त्री स्थापितलाई बर्खास्त गरी उनले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले लिने बताइएको छ ।
बुधबार प्रदेश मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो।
मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहिबार नै काठमाडौं आएका थिए।
नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन्।
उनी प्रदेश ३ को मन्त्रीकै हैसियतमा आइतबार चीन भ्रमणमा जाने तयारीमा थिए। तर, मुख्यमन्त्री पौडेलले भ्रमणमा जानुअघि नै उनलाई पमदमुक्त गरेका हुन्।
मुख्यमन्त्री डोरमणी पौडेल मन्त्री केशव स्थापित