मुख्य समाचार राजनीति

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

काठमाडौं ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् । 

 

 

 

इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने ,  “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।” 

 

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताए ।  

काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उहाँले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए । 

 

 

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए । 
कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि पनि सहभागी थिए । उनले  काङ्ग्रेसकै नेतृत्वमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताए । 

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा समसामयिक विषयका विभिन्न विषयमाथि छलफल हुने बताइएको छ ।
 

विशेष