मुख्य समाचार राजनीति

राष्ट्रिय सम्मानका साथ वामपन्थी नेता तुलाधरको अन्त्येष्टि 

राष्ट्रिय सम्मानका साथ वामपन्थी नेता तुलाधरको अन्त्येष्टि 

काठमाडौं । पूराना वामपन्थी नेता एवं मानवअधिकारवादी पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार कर्णदीपमा अन्त्येष्टि गरिएको छ ।  

 

 

स्वर्गीय तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गरेका थिए। यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार तुलाधरको शवयात्रा गरिएको थियो । 

 

 

विक्रम सम्वत १९९७ मा काठमाडौंमा जन्मिएका तुलाधरको गएको कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

 

 

थप उपचारका लागि कात्तिक १३ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उनको निधन भएको थियो । 

 

 

तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिएका छन् । उपप्रधान एवव रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारी, नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा तुलाधरप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

 

 

त्यस्तै नेपाली कांग्रेसका नेता तीर्थराम डङ्गोल, सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता लीलामणि पोखरेल, नेतृ हिसिला यमी, पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि कर्णदीपमा स्वर्गीय तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गरेका थिए ।

 

 

त्यस्तै संस्कृतिविद् डाक्टर चुन्दा बज्राचार्य, नेपाल भाषाका चर्चित कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका साहित्यकार भूषणप्रसाद श्रेष्ठलगायत ठूलो सङ्ख्यामा शुभेच्छुक तथा जनसमुदायको कर्णदीपमा उपस्थिति थियो । 

पद्मरत्न तुलाधर राजकीय सम्मान

विशेष