हिलोमैलोको समय सकिएपछि सवारीधनीले गाडी दौडाए जस्तै सरकारको गियर पनि बढाइन्छ : अध्यक्ष दाहाल
विराटनगर । वर्तमान सरकार तत्काल पुनःगठनको सम्भावना नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
उनले भने, 'एक वर्ष भयो सरकार गठन भएको त्यसैले अब सरकारको काम कारवाहीलाई थप तीव्रता दिन गियर परिवर्तन गरेर अगाडि बढाउने छौं । हिलो मैलोको समय सकिएपछि सवारी धनीले गाडी दौडाए जस्तै सरकारको गियर पनि बढाइन्छ ।’
सरकार गठन भएको एक वर्षमात्र पुगेको र सरकारले आफ्नो घोषणापत्रअनुुसार नै काम गरिरहेकाले सरकार पुनर्गठनको आवश्यकता अहिले नै नरहेको अध्यक्ष दाहालको दाबी छ ।
विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले सरकार अब प्रभावशाली कार्यका साथ अगाडि बढ्ने जिकिर गरे ।
एक अर्को प्रसंगमा अध्यक्ष दाहालले पार्टी एकताको विषय सोचेअनुरूप केही ढिला भएको बताए । उनले केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिला भएको भन्ने कुरा साँचो नरहेको प्रष्ट पारे । भोली आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिला हुन पुगेको दाहालको भनाई छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको पनि टिप्पणी गरेका छन् । नेकपा मोरङले चाडपर्वको अवसरमा सोमबार आयोजना गरेको चियापान समारोहमा भाग लिनका लागि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल विराटनगर आएका हुन । दाहालले सोमबार नै पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमसमेत रहेको नेकपा मोरङले बताएको छ ।
पुष्पकमल दाहाल