मुख्य समाचार राजनीति

आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्योः सभापति देउवा

आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्योः सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । 

 

 

दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा बिहीबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।’ 

 

 

कांग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोर्नु परेको उल्लेख गर्दै उनले कांग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए । 

 

 

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरश नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए । 

 

 

सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे । -रासस
 

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा

विशेष