राजनीति

कांग्रेसको आगामी महासमिति बैठकमा आर्थिक प्रतिवेदन पेश गरिने 

कांग्रेसको आगामी महासमिति बैठकमा आर्थिक प्रतिवेदन पेश गरिने 

काठमाडौं । नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरेको छ । 

 

कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । 


पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिले पारित गरेको आर्थिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट देशलाई समृद्ध बनाउन नसकिने दाबी गरिएको छ ।

त्यसैगरी प्रतिवेदनमा उत्पादनमा जोड दिएर गरिब नागरिकको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारको निषेध र नियन्त्रणमुखी अर्थनीतिका कारण नागरिकमा वैदेशिक लगानी गएको वर्षभन्दा ७५ प्रतिशत घटेको तथा आन्तरिक लगानी पनि पलायन हुने क्रम बढेको कांग्रेसको निष्कर्ष छ ।

आगामी मंसिर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक जारी छ । मंगलबार पनि बैठक बस्ने छ । मंगलबार बस्ने केन्द्रीय कार्य समिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

पार्टीका उपसभापति बिमलेन्द्र निधि नेतृत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ । 


यसअघि पेश गरिएको विधान संशोधन मस्यौदा प्रतिवेदनमाथि कांग्रेस केन्द्रीय कार्य समितिमा छलफल भईसकेको छ । सो प्रतिवेदनलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावको आधारमा अन्तिम रुप दिने काम भईरहेको पनि कांग्रेसले जनाएको छ ।

कांग्रेसले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पनि पेश गर्नेछ । 

विशेष