‘सारा दुनियाँ अन्धकारमा हुँदा, जनकपुरमा ज्ञानको गंगा बग्थ्यो’—मुख्यमन्त्री योगी (फोटो फिचरसहित)
जनकपुर । जनकपुर आएका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजा गरेका छन् । आदित्यनाथले बिहान जानकी मन्दिर गई पूजा गरेका हुन् ।
विवाहपञ्चमी महोत्सवका लागि आएका आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री महम्मद लालबाबु राउतले गद्दीले जनकपुर विमानस्थलमा स्वागत गरेका थिए । आदित्यनाथको स्वागतमा मुख्यमन्त्री राउतले उनको आफनो निवास मधेश भवनमा दिवाभोजको आयोजना गरेका छन् । मधेश भवनमा आयोजित दिवाभोजमा संघीय तथा प्रादेशिक सरकारका अधिकारीहरू तथा राजनीतिज्ञहरू सहभागी थिए ।
मधेश भवनमा आयोजित दिवाभोजमा योगी आदित्यनाथ सहित संघीय तथा प्रादेशिक सरकारका अधिकारीहरु तथा राजनीतिज्ञहरुको सहभागीता थियो ।
दुवै मुख्यमन्त्रीहरू सहित संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा जनकपुर नगर प्रमुख लाल किशोर साहले रंगभुमि बाह्रबिघा मैदानमा सम्पन्न राम सीता विवाहको विविध पक्षहरु अवलोकन गरे । नगर प्रमुख साहले योगी आदित्यनाथलाई नागरिक अभिनन्दन समेत गरे ।
जानकी मन्दिरको आगन्तुक पुस्तिकामा मुख्यमन्त्री योगी आदित्यनाथले लेखेका छन्, ‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुर धाममा पूजा अर्चना गर्न पाउँदा र विदेहराज महाराज जनकको भूमिमा आउने अवसर प्राप्त भएकोमा आफूलाई धन्य ठानेको छु । भगवान् श्री राम र माता सीताको जीवन हाम्रो दुवै देशको धर्म संस्कृती र सभ्यताको अभिन्न अंग हो । उहाँहरूले पालना गर्नुभएको आदर्श र मूल्यको पालना सार्वभौम हो र यसले हामी सबैलाई प्रेरणा दिएको छ । मसँगै आम प्रतिनिधीमण्डललाई गरिएको भव्य स्वागतको लागि म नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिन चाहन्छु । म भारत सरकार र जनताको तर्फबाट नेपालका जनतालाई शुभकामना दिन चाहन्छु र यसका साथै सुख सम्वृद्धिको पनि कामना गर्दछु ।’
जनकपुरको महिमा गाउँदै उनले भने, ‘जब सारा दुनियाँ अन्धकारमा थियो । तब जनकपुरमा ज्ञानको गंगा बग्दथ्यो ।’ नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले अतुलनीय योगदान गरेको भन्दै मुख्यमन्त्री योगी आदित्यनाथले भने, ‘हिन्दू धर्ममा विशेषगरि सात प्रकारका पुरी हुन्छन् । मञ्जिभ सिंह आठौं पुरी हुन् ।’ उनले प्रदेश नं २ आर्थिक वृद्धि तथा सम्पन्नताको कारण नेपालको विशेष प्रदेशको रूपमा चिनिन सकोस् भन्ने शुभकामनासमेत दिए । यसैगरि उनले थपे, ‘मिथिला र अबध हाम्रो महान् संस्कृतिका विरासत हुन् । यसमा पर्यटनको अपार सम्भावना छ जसले गर्दा रोजगारीको पनि अभिवृद्धि हुन सक्छ । भारतको विकासको लाभ नेपाललाई पनि मिल्न सकोस् । यसको लागि नेपाल र भारत एक अर्काबीच जोडिनु आवश्यक छ ।’
यसका साथै उनले नेपालको कृषी, विज्ञान र प्रविधिको क्षेत्रमा भारतले सहयोग बढाउँदै जाने बताए । उनले भने, ‘संस्कृतिक विकासको साथसाथै भौतिक विकासलाई पनि ख्याल गर्नुपर्छ । भौतिक विकासले नै हाम्रो जीवन खुसीमय बनाउन सक्छ ।’ यसैगरि जनकपुर र अयोध्या जोडिने मार्ग बन्ने भन्दै उनले भने, ‘चार लेनको राम जानकी मार्ग बनाइनेछ । यो मार्ग बनेपछि जनकपुर—अयोध्या चार घण्टामा यात्रा गर्न सकिनेछ ।’