मुख्य समाचार राजनीति

हाम्रा संस्कृति अमूल्य नीधि हुन्ः राष्ट्रपति भण्डारी

हाम्रा संस्कृति अमूल्य नीधि हुन्ः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् । 

 

बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि भएको बताइन् ।

 

देश धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरेकी छन् । “प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्याएको छ । यसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख छ । 

 

 

आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौंयुगदेखि हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व रहेको र यसले हामीलाई सधैँ गौरवान्वित बनाइरहने बताए ।

 

विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने थुप्रै आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस पावन अवसरमा नेपालीहरुबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने उनले शुभकामना व्यक्त गरेकी छन् ।
 

राष्ट्रिपति विद्यादेवी भण्डारी

विशेष