मुख्य समाचार देश

आज पनि बस्न सकेन संवैधानिक परिषदको बैठक, देउवा व्यस्त 

आज पनि बस्न सकेन संवैधानिक परिषदको बैठक, देउवा व्यस्त 

काठमाडौं । बुधबार पनि संवैधानिक परिषदको बैठक बस्न सकेन । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएसँगै परिषदको बैठक बस्न नसकेको हो । बैठक ९ बजे बस्ने तय भएको थियो । 

 

बैठक बस्नका लागि अन्य अधिकारीहरु आए पनि देउवाको अनुपस्थितिमा बैठक स्थगित हुन पुगेको छ । यसअघि पनि मंगलबार साँझ बैठक नै नबसी स्थगित भएको थियो । 

 मंगलबार साँझ बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको थियो। तर, बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो। परिषदको अर्को बैठक बिहीबार बिहान ९ बजेका लागि बोलाइएको छ ।


प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न लागि बैठक पटक पटक आह्वान गरेपनि अहिलेसम्म पूर्ण बैठक बस्न सकेको छैन । यसअघि बसेको बैठकहरुमा देउवाको समय व्यस्तताका कारण बैठकमा उपस्थिति जनाएर मात्र देउवा बाहिरिएका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि व्यस्तताको कारण देखाँउदै मंगलबारको बैठकमा गएनन् । यो सँगै प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बोलाइएको परिषदको बैठक अहिलेसम्म चारपटक स्थगित भएको छ ।

प्रधानन्यायाधिश रिक्त हुनु एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

 

परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिशद्वय चोलेन्द्रशमशेर राणा र दीपकराज जोशीको नाम न्याय परिषदले पठाएको छ । जोशी यसअघि पनि संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएको थिए ।


 

विशेष