राजनीति

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं ।  नेपाली कांग्रेस पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । 

 

महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो । 

 

यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो । 

विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन । 

विशेषगरी पदाधिकारी सङ्ख्या बढाउने/नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ । 

केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् । स्थानीय व्यवस्थापन समितिले महासमिति बैठकको अन्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

 

महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको काठमाडौँ कांग्रेसका  सभापति बानियाँले जानकारी दिए । 
 

विशेष