प्रतिवेदनमा आजै सहमति नजुटे, फरक मतसहित महासमिति बैठकमा पेश गरिने
काठमाडौं ।नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गर्ने प्रतिवेदनमा सहमतिको अन्तिम प्रयास गर्ने भएको छ । महासमिति बैठक शनिबारबाट सुरु हुदैछ ।
शनिबारबाट बैठक सुरु हुने भनिएपनि आर्थिक प्रतिवेदन बाहेक राजनीतिक, सांगठनिक, विधान मस्यौदा र आयव्यय सम्बन्धी प्रतिवेदन कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्न सकेको छैन ।
विधान मस्यौदा र राजनीतिक प्रतिवेदनमाथि देखिएको चरम विवादका कारण अन्य प्रतिवेदनहरु समेत प्रभावित भएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सबै प्रतिवेदन थप छलफल गर्दै पारित गर्ने कार्यसूची सहित प्रस्तुत हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
यस्तै बाँकी प्रतिवेदन र दस्तावेजमा सहमति जुटाउन काँग्रेसका दुई शीर्ष नेता अहिलेसम्म प्रयासरत छन् ।
विधानमा उल्लेख पदाधिकारीको संख्या, सदस्यताको वर्गीकरण, संसदीय बोर्ड लगायत विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन भने राजनीतिक प्रतिवेदनमा समेत संस्थापन इतर पक्षले आपत्ति जनाउँदै आएका छन् ।
दुई साता लामो केन्द्रीय समिति बैठकले हालसम्म ५ मध्ये आर्थिक प्रतिवेदन मात्रै परिमार्जन सहित अनुमोदन गरेको छ ।
शुक्रबारको बैठकले समेत अनुमोदन नगरे सबै प्रतिवेदन फरक मतसहित महासमिति बैठकमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताएका छन् ।
खासगरी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा कम्युनिस्ट गठबन्धनले दुई तिहाइनिकट विजय हासिल गरेपछि कांग्रेस एकैस्थानमा आउन बाध्य भएको छ , तर एकैस्थानमा आउन खोजे पनि गृहकार्य पर्याप्त नहुदाँ र व्यवस्थित नहुदाँ कमजोर बन्दै आएको छ ।
नेतृत्व तहमा विवादैविवाद र गुटउपगुट मौलाएका कारण केन्द्रदेखि गाउँसम्मै कांग्रेस पार्टी बलियो हुनुको साटो कमजोर बन्दै गएको छ ।
महासमितिले सङ्घीयताअनुसारको उपयुक्त विधान अनुमोदनसँगै भावी कार्यदिशा समेत तय गर्ने आम कांग्रेसी अपेक्षा भए पनि त्यसअनुसारका दस्तावेज नै नआएकाले कांग्रेस सुधारतर्फ नगएको विश्लेषण हुन थालेको छ ।
यसैबीच, कांग्रेस महासमिति बैठकका लागि सदस्यको नाम दर्ता जारी छ ।
शुक्रबारको लागि तय बैठक एक दिन पछि सरेपनि प्रतिनिधिहरु काठमाडौं आईसकेकाले आजै दर्ता सुरु भएको हो ।
बैठकको औपचारिक उद्घाटन भने राजधानीस्थित एक पार्टी प्यालेसमा शनिबार हुनेछ । बैठकमा सहभागी हुन विभिन्न जिल्ला तथा विदेशबाट आएका शुभेक्छुक संस्थाका प्रतिनिधिहरुको नाम दर्ता भईरहेको कांग्रेसले जनाएको । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सदस्यहरुको स्वागतसंगै नाम दर्ता प्रक्रिया सुरु भएको हो ।