राजनीति

आज नेकपाको स्थायी समिति बैठक, चार नेताले अध्यक्षद्वयको खुलेर आलोचना गर्ने

आज नेकपाको स्थायी समिति बैठक, चार नेताले अध्यक्षद्वयको खुलेर आलोचना गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पाँच महिनापछि शनिबार बस्दै छ ।

 

२१ असारपछि पहिलोपटक बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । 

 

२२ मंसिरमा बालुवाटारमा केन्द्रीय सचिवालय बैठक डाकेर अपमानपूर्वक पर्खाइएको भन्दै चार नेताले बहिष्कार गरेपछि शनिबारका लागि स्थायी समिति बैठक बोलाएको थियो ।

 

चार नेता बाहिरिएपछि अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित सचिवालयको बहुमत सदस्यको बैठकले स्थायी समिति बैठकको मिति तय गरेको थियो ।

 

बोलाएको समयभन्दा आधा घन्टापछिसम्म पनि अध्यक्षहरू उपस्थित नभएपछि नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले २२ मंसिरको बैठक बहिष्कार गरेका थिए ।

 

एजेन्डाबारे स्थायी समिति सदस्य अनभिज्ञ
नेकपाका पछिल्ला सबै बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको सरकारीनिवास बालुवाटारमा हुँदै आएका थिए । तर, चार नेताले यसप्रति पनि आपत्ति जनाएपछि शनिबारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा डाकिएको छ । 

 

लामो समयपछि बैठक बस्न लागे पनि स्थायी समिति सदस्यहरूले भने छलफलका एजेन्डाबारे अनभिज्ञता जनाए ।

 

चार नेताले अध्यक्षद्वयको खुलेर आलोचना गर्ने
स्थायी समिति बैठकका लागि अध्यक्षद्वय ओली र प्रचण्ड तथा चार शीर्ष नेताहरू नेपाल, खनाल, गौतम र श्रेष्ठले छुट्टाछुट्टै तयारी गरेका छन् ।

 

२२ मंसिरमा शीर्ष नेताले बैठकमै भाग नलिई बहिष्कार गरेपछि ओली–प्रचण्ड स्थायी समितिलाई अनुकूल बनाउने कसरतमा छन् ।

 

कार्यविभाजन र जिल्ला एकीकरणका सन्दर्भमा अध्यक्षद्वयले महासचिव विष्णु पौडेलसहितको उपस्थितिमा निरन्तर छलफल गर्दै आएका छन् ।

 

अध्यक्षद्वयले अपमान गरेको भन्दै बहिष्कार गरेर एकै ठाउँ उभिएका चार शीर्ष नेताले भने अध्यक्षद्वयको कार्यशैलीको खुलेरै आलोचना गर्ने तयारी गरेका छन् ।

 

बिहीबार छलफल नै गरेर उनीहरूले अध्यक्षको आलोचना गर्ने र बहिष्कार गर्नुको कारण प्रस्ट्याउने समझदारी गरेका छन् ।

 

विधि–प्रक्रिया मिचेर पार्टी सञ्चालन गर्न खोजिएको भन्दै नेतृत्वको खुलेर प्रतिवाद गर्ने उनीहरूको रणनीति छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक

विशेष