कांग्रेस महासमिति बैठकमा नाराबाजी, बैठक दुई घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक दुई घन्टाका लागि स्थगित भएको छ ।
विधान मस्यौदालाई अन्तिम रूप दिन केन्द्रीय समितिको बैठक संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने भएपछि महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको हो । सभापति शेरबहादुर देउवा उक्त बैठकमा सहभागी हुनु पर्ने भएकाले बैठक दुई घण्टा स्थगित गरिएको हो ।
यसैबीच महासमिति बैठकमा उपसभापति विजय कुमार गच्छदारलाई कार्यवहाक सभापतिका रूपमा छोडेर देउवा सिंहदरबारमा जान लागेपछि केही असन्तुष्ट कार्यकर्ताले नाराबाजी गरेका छन् । देउवा बैठकस्थलबाट बाहिरिन लागेपछि असन्तुष्ट पक्षले आफूहरुका कुरा सुन्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
कांग्रेस संसदीय दलको कार्यालयमा विधानका विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । विधानका विषयमा छलफल गर्न भन्दै महासमिति बैठक बोलाइए पनि सहमति बन्न सकेको छैन । बैठम पुनः १ बजे बस्ने छ ।