संसदको हिउँदे अधिवेशन पुस ११ गतेका लागि आह्वान
काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ ।
सरकारले संसदको हिउँदे अधिवेशन पुस ११ गते दिउँसो ४ बजेका लागि बोलाएको हो। सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते संसद अधिवेशन आह्वान गरेकी हुन् । सरकारले हिउँदे अधिवेशन बोलाएको संसद सचिवालयले पनि पुष्टि गरेको छ।
संसद सचिवालय स्रोतका अनुसार सरकारले अधिवेशन मिति तोकेको कुरा अनौपचारिक रुपमा जानकारी दिइएको छ भने औपचारिक चिठी भने राष्ट्रपतिको स्वीकृतिपछि आउनेछ। संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक पुस ११ गते ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
फागुन २१ भित्र संविधान अनुकुल नभएका कानुनलाई संशोधन, परिमार्जन र नयाँ निर्माण गर्न ढिलाइ हुने भएकाले सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले छिटो अधिवेशन बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्दै आएका थिए।