वर्तमान सरकारले जनचाहना अनुरुप काम गर्न सकेन :नेता गजुरेल
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले वर्तमान सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको बताएको छ ।
पार्टीका अध्यक्ष सिपी गजुरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्तमान सरकारले जनताका लागि केही पनि गर्न नसकेको दाबी गरे ।
‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको घोषणा कहाँ गयो ? भनि अध्यक्ष गजुरेलले सरकारलाई प्रश्न पनि गरे। उनले सरकारको आलोचना गर्दै, सरकारले महंगी, भ्रष्टाचार, तस्करीबाहेक जनतालाई अरु केही नदिएको दाबी गरे । पत्रकार सम्मेलनमा मोर्चाले सरकारविरुद्ध जागरण अभियान संचालन गर्ने निर्णय गरिएको पनि जानकारी गराएको छ।
अध्यक्ष गजुरेलले आगामी चैत्र २४ गते राष्ट्रिय सम्मेलन गर्ने गरी संगठन विस्तारको कामलाई अघि बढाउने निर्णय पनि गरिएको बताए।
पुस १ गते काठमाडौंमा बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकले सम्मेलन हुन बाँकी रहेका जिल्लाहरुमा माघ महिना भित्र सम्मेलन सम्पन्न गर्ने योजना पनि तय गरेको छ।