राजनीति

विप्लव समूहसँग छिट्टै एकता हुन्छः बैद्य

विप्लव समूहसँग छिट्टै एकता हुन्छः बैद्य

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकताको लागि छलफल गरिरहेको बताएका छन् ।

 

दाङको तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा बैद्यले यस्तो बताएका हुन् । नेपालमा सच्चा कम्युनिष्ट पार्टी आवश्यक भएकोले त्यसको निर्माण अभियानमा आफू लागेको उनले बताए ।

 

त्यसका लागि विप्लव, गोपाल किराँती, मोहनविक्रम लगायत नेतृत्वका कम्युनिष्ट पार्टीसँग छलफल भइरहेको बताए । छलफलको निष्कर्षमा छिट्टै पुगिने पनि उनले बताए ।

 

‘कुराकानी भइरहेको छ, टुट्न केही सजिलो भए पनि एकता गर्न केही कठिनाइ हुँदो रहेछ,’ उनले भने, ‘तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौँ भनेर लागेका छौँ ।’

 

पूर्वएमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको उनको आरोप थियो । बैद्यले यो एकता सत्ताका लागि मात्रै भएकाले लामो समय नटिक्ने पनि ठोकुवा गरे ।

 

‘यो एकता सत्ताका लागि मात्रै होे, कम्युनिस्ट एकता होइन,’ उनले भने ‘लामो समय टिक्दैन ।’ सैद्धान्तिक रुपमा एकता नभइ चुनाव जित्नलाई मात्रै गरिएको उनको भनाई छ ।

 

सरकारले नौ महिनासम्म पनि कुनै पनि उदाहरणीय काम गर्न नसकेको भन्दै बैद्यले भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल नथालेको गुनासो गरे ।

 

दुईतिहाइको बलियो सरकार निर्माण हुँदा पनि नौ महिनासम्म केही काम गर्न नसक्नु लाजमर्दो भएको उनको धारणा छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ मोहन बैद्य ‘किरण’

विशेष