मुख्य समाचार राजनीति

कांग्रेस महासमिति बैठक : डा. महतले जिल्ला सभापतिको माइक खोस्दा हात हालाहालको स्थिति

कांग्रेस महासमिति बैठक : डा. महतले जिल्ला सभापतिको माइक खोस्दा हात हालाहालको स्थिति

काठमाडौं । कांग्रेस महासमितिको मंगलबारको बैठक सुरु नहुँदै हात हालाहालको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि उक्त स्थिति सृजना भएको हो ।

 

सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनावको स्थिति सृजना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरूले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढाउने अडान लिँदै गर्दा महतले केसीको हातबाट माइक खसेका थिए । महासमिति सदस्यहरुले प्रतिवेदन विनाबैठक चल्न नसक्ने अडान राख्दा आएका छन् ।
 

जिल्ला सभापति केसीले आफू बोल्दै गर्दा डा महतले एकाएक आफ्नो हातबाट माइक खोसेपछि धकेलाधकेल भएको बताए । उनको हातबाट माइक खसेर फूटेको थियो । महत र केसीको विवादमा अधिकांसले केसीको पक्षमा हुटिङसमेत गरेका थिए । विवादपछि केही बेरका लागि बैठक स्थगित गरिएको छ । बैठक विधान मस्यौदा पेस भएपछि मात्रै बस्ने छ ।
 

शनिबारदेखि जारी बैठक पूर्वनिर्धारित कार्यतालिका अनुसार आज सकिने पर्ने हो । तर विधान मस्यौदामा सहमति जुट्न नसक्दा बैठक सकिने दिनसम्म पनि मस्यौदा पेस हुन सकेको छैन । जसले गर्दा महासमिति सदस्यहरू नेतृत्वप्रति आक्रोशित बनेका छन् ।
 

Congress

विशेष